काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद उत्कर्ष उन्मुख भएका बेला पार्टीको इतर पक्ष आधिकारिकता विवादमा पुनरवलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ। गत पुसमा भएको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कांग्रेसको इतर पक्ष सर्वोच्चको फैसला पुनरवलोकनको मागसहित पुनः सर्वोच्च पुगेको हो।

बिपी स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा कार्यक्रम आयोजना गर्दै इतर पक्षले पार्टी एकताका लागि संस्थापन पक्षलाई अल्टिमेटम दिएको छ। सातै प्रदेशमा प्रदेशस्तरीय भेला गरेका उनीहरूले साउन २९ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेका छन्।

त्यसअघि नै पुनरवलोकन निवेदन सहित अदालत पुगेको इतर पक्षले त्यसकै जगमा अब पार्टीको १५औं महाधिवेशनको समानान्तर गतिविधि अघि बढाउने निकट स्रोतको दाबी छ। सभापतिको हैसियतमा शेरबहादुर देउवा र कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले महाधिवेशनको अगुवाइ गर्ने छन्।

तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति खड्काका तर्फबाट पुनरवलोकन निवेदन परेको छ। उक्त निवेदनमाथि तीन न्यायाधीशको इजलासमा सुनुवाइ भई अघि बढाउन निस्सा दिने वा नदिने विषयमा निर्णय हुने छ। त्यो निर्णय तीन न्यायाधीशको कार्यकक्षबाट नै हुने छ। उनीहरूले निस्सा झिकाउन आदेश दिए कांग्रेस विवादले नयाँ रूप लिने छ।

फागुन २१ गतेको निर्वाचनअघि विदेश गएका देउवा साउनको अन्तिम सातासम्म काठमाडौं आउने निकटहरूको दाबी छ। देउवासहित विशेष महाधिवेशनको विपक्षमा रहेकाहरूले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति बनेका थापा समूहलाई आधिकारिकता दिने निर्णय सदर गर्ने सर्वोच्च अदालतको पूर्वनिर्णयमा तथ्य, प्रमाण र कानुनको गलत विश्लेषण गरिएको दाबी गरेका छन् र त्यसलाई उल्ट्याउन माग गरेका छन्।

जनतासँग जोडिन्छौं: थापा

उता कांग्रेस सभापति गगनकुमार थापाले जनतासँग जोडिएर कांग्रेसले काम गर्ने बताएका छन्। बिपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा हारिन्छ भन्ने डरले अरूसँग गठबन्धन नगरिने दाबी गरे। शक्तिको प्रतिस्पर्धा मात्रै राजनीति नभएको जिकिर गर्दै थापाले भने, ‘हामी बिपी कोइरालाका कार्यकर्ता हौं। एउटा चुनावबाट मात्तिहाल्ने र एउटा चुनावबाट आत्तिहाल्ने होइनौं।’

कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर गन्तव्यमा पुग्न नसकिने बताए। बुधबार इतर पक्षको कार्यक्रममा बोल्ने अधिकांश नेताहरूलाई लक्षित गर्दै शर्माले भने, ‘कसैले कतै भेला भएर एकदमै धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुंगा हानी राखेर हामी गन्तव्यमा पुग्न सक्दैनौं।’

शर्माले पार्टीको विशेष महाधिवेशनबाट युवा नेता थापालाई कांग्रेसको सभापति र सिंगो देशको नेता बनाउने, प्रधानमन्त्री बनाएर देशलाई दशकमा बदल्ने संकल्प गरेर हिँडेका छौं।’

यसैबिच सभापति थापाले क्यान्सर रोगबाट गम्भीर बिरामी परेका नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाइएको जानकारी पनि कार्यक्रममा गराए। जीवनका लागि संघर्ष गरी रहेका श्रेष्ठ लामो समय शेरबहादुर देउवासँग निकट रहेर काम गरेका थिए। विशेष महाधिवेशनका बेला थापा समूहमा खुलेका श्रेष्ठले विगतमा कार्यवाहक सभापति, उपसभापतिलगाय जिम्मेवारीमा रहेर काम गरेका थिए।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com