भारत। नीट परीक्षा प्रश्नपत्र चुहावट, परीक्षा प्रणालीमा सुधार र विद्यार्थीमाथिको दमनविरुद्ध २६ दिनदेखि आमरण अनशनमा रहेका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले केन्द्र सरकारको लिखित आश्वासनपछि बिहीबार राति आफ्नो अनशन अन्त्य गरेका छन्।

गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डा र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंहको उपस्थितिमा वाङचुकले जुस पिएर अनशन तोडे।

भारतीय सञ्चारमाध्यमका अनुसार देशभर चर्किएको विद्यार्थी आन्दोलन र वाङचुकको बिग्रँदै गएको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गृहमन्त्री अमित शाहले स्वास्थ्यमन्त्री जेपी नड्डा र राज्यमन्त्री डा. जितेन्द्र सिंहसँग करिब चार घण्टा लामो आपतकालीन बैठक गरेका थिए। त्यसपछि सरकारले वाङचुकका मागप्रति सकारात्मक प्रतिबद्धता जनाउने निर्णय गरेको बताइएको छ।

बैठकपछि राज्यमन्त्री डा. जितेन्द्र सिंहले वाङचुककी पत्नी गीताञ्जली आङ्मोसँग टेलिफोन संवाद गर्दै सरकार आफ्ना प्रतिबद्धताप्रति गम्भीर रहेको विश्वास दिलाएका थिए। उनले वाङचुकलाई अनशन अन्त्य गर्न मनाइदिन आग्रह गरेका थिए। त्यसलगत्तै साँझ स्वास्थ्यमन्त्री नड्डा र राज्यमन्त्री सिंह स्वयं अस्पताल पुगेर सरकारको आधिकारिक आश्वासनपत्र वाङचुकलाई हस्तान्तरण गरेका थिए।

सरकारले आन्दोलनमा सहभागी विद्यार्थीमाथि कुनै आपराधिक मुद्दा दर्ता नगरिने, २० जुलाईमा भएको ‘संसद मार्च’मा सहभागी प्रदर्शनकारीमाथि कारबाही नगर्ने, प्रश्नपत्र चुहावट रोक्न नयाँ कडा कानुन अर्को साता संसदमा पेश गर्ने, प्रश्नपत्र चुहावटका कारण ज्यान गुमाएका विद्यार्थीका परिवारलाई क्षतिपूर्तिको विषयमा सकारात्मक निर्णय गर्ने तथा परीक्षा प्रणाली सुधारबारे संसदमा विस्तृत छलफल गराउने प्रतिबद्धता जनाएको छ।

यससँगै ‘ककरोच जनता पार्टी’ (सीजेपी) को मागअनुसार विद्यार्थी प्रतिनिधिसँग सरकारी कार्यालयबाहिर तटस्थ स्थानमा औपचारिक वार्ता गर्ने सहमति पनि सरकारले जनाएको छ। यसअघि आन्दोलनकारीहरूले मन्त्रीहरूको सरकारी निवास वा मन्त्रालयमा वार्ता गर्न अस्वीकार गरेका थिए।

वाङचुकले अनशन अन्त्य गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै चिकित्सकको सल्लाहअनुसार आराम गर्न आग्रह गरेका छन्।

अनशन अन्त्यपछि वाङचुकले आफू पुनः लद्दाख फर्किने इच्छा व्यक्त गरेका छन्। प्रस्थानअघि आन्दोलनरत विद्यार्थी र समर्थकसँग भेटेर सरकारका प्रतिबद्धताप्रति विश्वास कायम राख्न, आन्दोलनलाई शान्तिपूर्ण, अनुशासित र कुनै अराजक वा राजनीतिक स्वार्थबाट मुक्त राख्न आग्रह गर्ने उनको तयारी रहेको बताइएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com