एजेन्सी। बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले पदबाट राजीनामा दिएका छन्। स्थानीय सञ्चारमाध्यमले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार प्रकाशित गरेको छ।

शाहाबुद्दिनले सन् २०२३ को अप्रिलदेखि बंगलादेशको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले देश राजनीतिक रूपमा संवेदनशील अवस्थामा रहेको समयमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।

सन् २०२४ को अगस्टमा सरकारी सेवामा आरक्षणको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत पुगेकी थिइन्। त्यसपछि उत्पन्न राजनीतिक अस्थिरताबीच अन्तरिम सरकार गठन नहुँदासम्मको संक्रमणकालीन अवस्थामा शाहाबुद्दिनले राष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए।

बंगलादेशको संविधानअनुसार राष्ट्रपति राष्ट्रप्रमुख भए पनि उक्त पद मुख्यतः औपचारिक मानिन्छ। देशको कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्रिपरिषद्मा निहित हुन्छ। शाहाबुद्दिनलाई पूर्वप्रधानमन्त्री शेख हसिनाका पुराना सहयोगीका रूपमा समेत चिनिन्छ।

हसिनाले स्वदेश फर्कने घोषणा गरेपछि सरकारमा उच्च पदमा रहेका उनका निकट सहयोगीलाई समेत हटाउन सार्वजनिक दबाब बढेको स्रोतहरूले बताएका छन्। यही दबाबका बीच सरकारको आग्रहमा शाहाबुद्दिनले पदबाट राजीनामा दिन सहमति जनाएको समाचार यसअघि पनि सार्वजनिक भएका थिए।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com