काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन्।
तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रनजिक पार्किङ गरी राखिएको विद्युतीय कारभित्र शनिबार एक महिलाको शव फेला परेको हो।
मृतक तारकेश्वर नगरपालिका–९, शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्।
पारिवारिक स्रोतका अनुसार रिजाल साउन ८ गते बिहानदेखि परिवारको सम्पर्कमा आएकी थिइनन्। शनिबार दिउँसो करिब १ बजे बीएई ०४१० नम्बरको विद्युतीय कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको हो।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। कारभित्रै जलेको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाको प्रकृति र मृत्युको कारणबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको र पोस्टमार्टम तथा अन्य अनुसन्धानबाट मृत्युको वास्तविक कारण खुल्ने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार













प्रतिक्रिया