काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले भूमिहीन तथा सुकुमबासीहरूमाथि राज्यले अपनाएको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। थापाथली, शङ्खमूल र गैरैधाराका सुकुमबासीलाई विस्थापित गर्ने क्रममा राज्य संयन्त्र अत्यन्त कठोर रूपमा प्रस्तुत भएको भन्दै उनले यसले नागरिकप्रति राज्यको संवेदनशीलतामाथि प्रश्न उठाएको बताए।

एक कार्यक्रममा बोल्दै ज्ञवालीले नेपाली उखान ‘तातो दूधले मुख पोलेको मान्छेले मोही पनि फुकेर खान्छ’ स्मरण गर्दै विगतका घटनाले नागरिकमा राज्यप्रति अविश्वास बढाएको टिप्पणी गरे। थापाथली, शङ्खमूल र गैरैधाराबाट हटाइएका सुकुमबासीलाई होल्डिङ सेन्टर हुँदै काभ्रे र त्यसपछि पुर्ख्यौली थलो पठाउने प्रक्रिया पीडादायी रहेको उल्लेख गर्दै उनले आफ्नै आँखाअगाडि उनीहरूको दयनीय अवस्था देख्नुपरेको बताए।

उनका अनुसार सुकुमबासीमाथि भएको व्यवहारले राज्य नागरिकप्रति कति कठोर बन्न सक्छ भन्ने स्पष्ट सन्देश दिएको छ। उनले भूमिहीनको समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्ने र उनीहरूको सम्मानजनक व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

ज्ञवालीले सुकुमबासीको विषयसँगै श्रमजीवी वर्गले भोगिरहेका कठिनाइ, बढ्दो करको भार तथा जनजीविकासँग सम्बन्धित मुद्दामा सबै राजनीतिक दलबीच साझा समझदारी आवश्यक रहेको बताए।

राजनीतिक एकताका अघिल्ला प्रयासहरू दीर्घकालीन हुन नसकेको उल्लेख गर्दै उनले अहिले हतारमा संगठनात्मक एकता खोज्नुभन्दा साझा मुद्दामा सहकार्य गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे। संसद्, प्रदेशसभा, स्थानीय तहदेखि सडक आन्दोलनसम्म जनसरोकारका विषयमा राजनीतिक शक्तिहरूले ऐक्यबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com