काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको आर्थिक विकासमा लगानी बढाउन आग्रह गरेका छन्।
अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग शनिबार भएको भर्चुअल छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले प्रवासी नेपालीप्रति सरकार र पार्टीको धारणा ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने रहेको भन्दै यसमा विश्वस्त भएर मातृभूमिसँग जोडिन आग्रह गरे।
प्रवासी नेपालीहरू नेपालको सद्भावनाका दूतसमेत भएकाले मातृभूमिको विकासमा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले देशको आर्थिक विकास र समृद्धिका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए। यस अभियानमा विदेशमा रहेका नेपालीको साथ र सहयोग महत्वपूर्ण हुने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सरकारले चालु बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थान र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिएको बताए। कर, राजस्व तथा उद्योग क्षेत्रलाई सहज बनाउने गरी नीतिगत सुधार अघि बढाइएको उल्लेख गर्दै उनले प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न ढुक्क हुन आग्रह गरे।
नेपालमा गरिएको लगानीबाट प्राप्त प्रतिफल सहज रूपमा विदेश लैजान सकिने व्यवस्था रहेको स्पष्ट पार्दै उनले लगानीकर्तालाई कुनै प्रकारको असहजता नहुने बताए।
सरकारले प्रवासी नेपालीको लगानी आकर्षित गर्न एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता नयाँ अवधारणा अघि सारेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले यी पहल नेपालमा प्रवासी नेपालीको लगानी विस्तार गर्ने उद्देश्यले ल्याइएको बताए।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार













प्रतिक्रिया