बागलुङ । बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वन रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार साउन १ गते राति लजिन आफ्ना साथी असिम वनको जन्मदिन मनाउन बडिगाड गाउँपालिका–१ स्थित दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीले राति करिब १०ः३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

साउन २ गते लजिन सम्पर्कविहीन भएपछि उनका परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय गलकोटमा निवेदन दिएका थिए।

त्यसपछि गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोलीसहित प्रहरीले तालिमप्राप्त कुकुर, पोलिग्राफ परीक्षण, ड्रोन क्यामेरा तथा स्थानीयवासीको सहयोगमा खोजी र अनुसन्धान अघि बढाएको थियो।

यस क्रममा साउन ९ गते बिहान करिब ९ः१५ बजे बडिगाड गाउँपालिका–१ स्थित मनखोलाको खोल्सामा लजिनको शव फेला परेको थियो। शव पोस्टमार्टमका लागि धौलागिरि प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा आइफोनको विषयमा विवाद भएपछि भएको कुटपिटबाट लजिनको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले उनीहरूविरुद्ध व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको थियो।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com