काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा गएको पहिरोबाट प्रभावित परिवारको तत्काल उद्धार, राहत र पुनर्स्थापना गर्न सरकारसँग आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले पहिरोका कारण तीन परिवार पूर्ण रूपमा विस्थापित भएको र ३५ परिवारका १६८ जना नागरिक उच्च जोखिममा रहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनले प्रभावित क्षेत्रमा तत्काल सङ्घ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकाय, जिल्ला विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायलाई परिचालन गर्न आग्रह गरेका छन्।

‘प्रभावित नागरिकको जीवनरक्षा, तत्काल उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा विस्थापितहरूको उचित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा काम गर्न सम्बन्धित सबै निकायलाई हार्दिक अनुरोध गर्दछु,’ आङ्देम्बेले भनेका छन्।

उनले जिल्लामा क्रियाशील राजनीतिक दल, स्वयंसेवी संस्था तथा सामाजिक सङ्घ–संस्थालाई समेत प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालित हुन अपिल गरेका छन्।

प्रभावित परिवारलाई राहत, उद्धार, खाद्यान्न, अस्थायी आवासलगायत आवश्यक मानवीय सहयोग उपलब्ध गराउन उनले सबै पक्षसँग आग्रह गरेका छन्।

निरन्तर वर्षाका कारण थप पहिरोको जोखिम कायमै रहेकाले उच्च जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा आङ्देम्बेले जोड दिएका छन्। उनले राहत सामग्रीको अभाव हुन नदिन तथा विस्थापित परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यक योजना तत्काल अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com