काठमाडौं । नेकपा (एमाले)का नेता ठाकुर गैरेले एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्।
‘पार्टी रूपान्तरणमा पूर्वअखिलको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले भारतमा शिक्षा क्षेत्रसँग सम्बन्धित आन्दोलनका कारण शिक्षामन्त्रीले पद छाड्नुपरेको उदाहरण दिँदै नेपालमा भने प्रश्नपत्र चुहावटजस्तो गम्भीर घटनापछि पनि सरकार जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए।
उनले कार्यदल गठन गरेर घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको दाबी गर्दै सरकारले उक्त प्रकरणबाट उम्किन खोजेको टिप्पणी गरे।
गैरेले एमालेको आन्तरिक गतिविधिप्रति पनि असन्तुष्टि जनाउँदै फागुन २१ गते सम्पन्न निर्वाचनपछि हालसम्म केन्द्रीय कमिटी बैठक बस्न नसकेको बताए। चुनावी परिणामको समीक्षा हुन नसक्नु कम्युनिस्ट पार्टीका लागि विडम्बनापूर्ण अवस्था भएको उनको भनाइ थियो।
त्यसैगरी, उनले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै नेपाल–भारत सीमा सम्बन्धी विषयमा सरकारले स्पष्ट धारणा राख्न नसकेको आरोप लगाए। प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको उल्लेख गरे पनि त्यसबारे सरकारले स्पष्ट जवाफ दिन नसकेको उनको दाबी थियो।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार













प्रतिक्रिया