काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन सङ्कायको एमबिएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्।
मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र सार्वजनिक प्रकरणमा संलग्न भएको आरोपमा दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए।
उनका अनुसार प्रश्नपत्र सार्वजनिक भएको सूचना प्राप्त हुनासाथ शिक्षा मन्त्रालयले गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी घटनाको निगरानी तथा अनुसन्धान प्रक्रिया तत्काल अघि बढाएको थियो।
मन्त्री पोखरेलले विगतमा पनि परीक्षा तथा प्रश्नपत्रसँग सम्बन्धित यस्ता घटना दोहोरिँदै आएको उल्लेख गर्दै यसपटक भने घटना सार्वजनिक भएलगत्तै कारबाही प्रक्रिया अघि बढाइएको बताए।
उनले सुशासनविरोधी गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनको दायरामा ल्याइने स्पष्ट पारे। विस्तृत अनुसन्धानपछि घटनाको वास्तविकता सार्वजनिक गरिने उनको भनाइ छ।
प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
यही साउन ८ गते सञ्चालन भएको एमबिएस प्रथम सत्रअन्तर्गत ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। त्यसपछि घटनाबारे अनुसन्धान अघि बढाइएको हो।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार













प्रतिक्रिया