काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम तथा अभिलेख हटाइएको विषयमा टिप्पणी गर्दै इतिहास मेटाउने प्रवृत्तिमाथि व्यंग्य गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले विगतमा राजाका पालामा निर्माण भएका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गको नाम परिवर्तन गर्नेहरूले अहिले आफ्नै इतिहास मेटिँदा दुःख मान्न नहुने बताएका छन्।
‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ। यसमा दुःख मान्नुपर्ने कुनै कारण छैन। हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए,’ शाहीले लेखेका छन्।
आफ्नो भनाइलाई थप प्रस्ट पार्न उनले एक पुरानो कथाको उदाहरणसमेत दिएका छन्। कथामा एक छोराले वृद्ध आमालाई डोकोमा बोकेर भीरबाट फाल्न लैजाँदा आमालाई फालेर फर्किएपछि छोराले बुबालाई त्यही डोको सुरक्षित राख्न आग्रह गर्छ। भोलि बुबा बूढो भएपछि उनलाई समेत त्यही डोकोमा बोकेर फाल्न काम लाग्ने छोराको भनाइ रहेको कथा उल्लेख गर्दै शाहीले अहिलेको परिस्थिति पनि त्यस्तै भएको टिप्पणी गरेका छन्।
उनले इतिहास मेटाउने प्रवृत्तिले अन्ततः सबैलाई प्रभावित गर्ने चेतावनीसमेत दिएका छन्।
‘इतिहास मेटाउनेहरूले सधैँ सम्झनुपर्छ—आज अरूको इतिहास मेटाउने पालो तपाईंको होला, तर भोलि तपाईंको इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुन सक्छ,’ शाहीले भनेका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया