काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यासको पुरानो अभिलेख खोजेर पुनर्स्थापना गर्ने बताएका छन्।
सोमबार सुरुङमार्गको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको समयको शिलालेख खोजी गरी पुनःस्थापना गरिने बताएका हुन्।
सुरुङमार्गबाट ओलीको नाम उल्लेख भएको शिलान्यास शिलालेख हटाइएको भन्दै सरकारको आलोचना भइरहेका बेला मन्त्री लम्सालले भने उक्त शिलालेख जानाजान नहटाइएको दाबी गरेका छन्।
उनका अनुसार सुरुङमार्ग निर्माणका क्रममा शिलालेख राखिएको स्थानमा पछि संरचना निर्माण भएपछि त्यसलाई सुरक्षित रूपमा सडक विभागमा राखिएको थियो। तर, जेनजी आन्दोलनका क्रममा सडक विभागको उक्त भवनमा आगलागी हुँदा शिलालेख हराएको उनको भनाइ छ।
‘मिडियामा आएजस्तो होइन। टनेल निर्माणका क्रममा शिलालेख राखिएको ठाउँमा संरचना बनेपछि त्यसलाई सुरक्षित रूपमा सडक विभागमा राखिएको रहेछ। पछि जेनजी आन्दोलनका क्रममा भवनमा आगलागी भएपछि त्यो हराएको रहेछ,’ मन्त्री लम्सालले भने।
सुरुङमार्गमा अहिले राखिएको नयाँ शिलालेखमा भने मन्त्री लम्सालको नाम उल्लेख गरिएको छ। उक्त शिलालेखमा ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो’ लेखिएको छ।
मन्त्री लम्सालले विगतमा भएका योगदानको सम्मान गर्नुपर्ने भन्दै पुरानो शिलालेख पुनर्स्थापना गर्ने प्रतिबद्धता जनाए।
उनले नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट नेपालले पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण अनुभव हासिल गरेको बताए। आगामी दिनमा देशका विभिन्न स्थानमा यस्तै आधुनिक सुरुङमार्ग निर्माण गरिने उनको भनाइ छ।
‘यो टनेलले धेरै कुरा सिकायो। अब देशैभरि यस्ता टनेल बन्छन्,’ मन्त्री लम्सालले भने।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया