काठमाडौं । कलाकार तथा गायक अशोक दर्जीले आफूमाथि कुटपिट तथा धम्की दिएको आरोपमा दुई जनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन्।
दर्जीले अंकित प्रधानसहित शनिश्चरेका दुई जनामाथि कानुनी कारबाहीको माग गर्दै झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका हुन्।
आइतबार सामाजिक सञ्जालमा दर्जीमाथि पैसा माग्दै कुटपिट गरिएको भनिएको भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको थियो। भिडियो भाइरल भएसँगै दर्जीका प्रशंसक तथा कलाकर्मीहरूले घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका थिए।
भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि दर्जीले प्रहरीमा उजुरी दिएका हुन्। उनले प्रहरीमा दिएको उजुरीको प्रतिलिपि फिल्म निर्मात्री नीता ढुंगानाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।
दर्जीले ढुंगानाले निर्माण गर्न लागेको आगामी फिल्म ‘पार्वती’मा समेत अभिनय गरेका छन्।
प्रहरीमा दिएको उजुरीमा दर्जीले आफूमाथि कुटपिट गर्ने व्यक्तिहरूले करिब एक महिनाअघि नै उक्त भिडियो खिचेर राखेको उल्लेख गरेका छन्। भिडियो हटाउन पटक–पटक आग्रह गर्दा पनि उनीहरूले नमानेको दर्जीको दाबी छ।
बालगायक तथा बालकलाकारका रूपमा परिचित दर्जी पछिल्लो समय झापास्थित आफ्नो घरमा बस्दै आएका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया