विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव चर्किएसँगै स्थानीय प्रशासनले नेपाली सेना परिचालन गरेको छ।

कर्फ्यु आदेशको अवज्ञा गर्दै सोमबार बिहानदेखि प्रदर्शनकारीहरूले सडकमा टायर बाल्ने, तोडफोड र आगजनी गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सेनाको हतियारधारी टोली बख्तरबन्द गाडीसहित घटनास्थलमा खटाइएको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो उपस्थिति हुँदाहुँदै पनि उत्तेजित भिड नियन्त्रणबाहिर जान थालेपछि सेनाको सहयोग लिनुपरेको हो।

सेनाले कप्तानगञ्ज क्षेत्रमा गस्ती बढाएपछि अवस्था केही नियन्त्रणमा आए पनि देवानगञ्ज, लौकही, हरिनगर र सदरमुकाम इनरुवासम्म प्रदर्शन फैलिएकाले सुरक्षा अवस्था अझै संवेदनशील रहेको प्रशासनले जनाएको छ।

आइतबार राति धार्मिक झण्डा हटाउने र मन्दिरमा ठूलो स्वरमा डीजे बजाइएको विषयलाई लिएर दुई समुदायबीच झडप भएको थियो। झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ। झडप र प्रदर्शनका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कोशी प्रदेश प्रहरीका अनुसार प्रदेशका विभिन्न जिल्लाबाट थप नेपाल प्रहरी, सशस्त्र प्रहरी र दंगा नियन्त्रणका विशेष टोली सुनसरीमा परिचालन गरिएको छ।

यसैबीच, गृह मन्त्रालयले गृहमन्त्रीको अध्यक्षतामा आपत्कालीन बैठक बसेर घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। प्रहरीले सुरक्षा व्यवस्था थप कडा पार्दै शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न प्रयास भइरहेको जनाएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com