सोल । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई सन् २०२२ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा झुटा अभिव्यक्ति दिएको ठहर गर्दै १८ महिनाको जेल सजाय सुनाएको छ। अदालतले उक्त सजाय तीन वर्षका लागि निलम्बन गरेको छ।
सोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले युनले निर्वाचन अभियानका क्रममा एक पूर्व कर अधिकारीलाई आफूले एक वकिलसँग परिचय नगराएको तथा आफू र उनकी पत्नी तथा पूर्व प्रथम महिला किम कोन हीले धार्मिक गुरु जियोन सियोङ बेसँग भेट नगरेको दाबी गरेको उल्लेख गरेको छ। अदालतले ती दाबी गलत रहेको निष्कर्ष निकालेको हो।
अदालतका अनुसार युनले ती पूर्व कर अधिकारीलाई सम्बन्धित वकिलसँग परिचय गराएका थिए भने किम कोन हीमार्फत पहिलो भेटपछि जियोन सियोङ बेसँग लामो समयसम्म सम्बन्ध कायम रहेको प्रमाणित भएको छ।
फैसलामा सार्वजनिक बहस, अन्तर्वार्ता र चुनावी अभियानका क्रममा उम्मेदवारले दिएको गलत सूचनाले मतदाताको निर्णय प्रक्रियामा गम्भीर असर पार्ने उल्लेख गरिएको छ। अभियोजन पक्षले युनलाई दुई वर्षको जेल सजाय माग गरेको थियो। युनले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् भने उनका कानुनी सल्लाहकारले फैसलाविरुद्ध पुनरावेदन गर्ने घोषणा गरेका छन्।
यदि पुनरावेदन अदालत र अन्तिम अदालतबाट पनि फैसला सदर भएमा युनको दल पिपुल पावर पार्टीले राष्ट्रपतीय निर्वाचनपछि राष्ट्रिय निर्वाचन आयोगबाट प्राप्त करिब ३९ अर्ब ७० करोड वन बराबरको निर्वाचन खर्च सरकारलाई फिर्ता गर्नुपर्ने अवस्था आउन सक्छ।
दक्षिण कोरियाको निर्वाचन कानुनअनुसार राष्ट्रपतीय निर्वाचनमा विजयी हुने वा कम्तीमा १५ प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको दलले सरकारी निर्वाचन खर्च प्राप्त गर्न पाउँछ। तर अन्तिम अदालतबाट जेल सजाय वा कम्तीमा १० लाख वन जरिवाना कायम भएमा उक्त रकम फिर्ता गर्नुपर्ने व्यवस्था छ।
युन सुक योलविरुद्ध अन्य आपराधिक मुद्दाहरू पनि विचाराधीन छन्। सन् २०२४ को डिसेम्बरमा घोषणा गरिएको सैनिक शासनसँग सम्बन्धित विद्रोहको मुद्दामा उनीमाथि सुनुवाइ भइरहेको छ। यसअघि फेब्रुअरीमा तल्लो अदालतले सोही मुद्दामा उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो, जसविरुद्धको कानुनी प्रक्रिया अझै जारी छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया