काठमाडौं । एमालेसँग भएको तीनबुँदे सहमतिप्रति असन्तुष्ट नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्।

पार्टी संयोजक प्रचण्ड सोमबार बिहान नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवास पुगेका थिए। भेटका क्रममा एमालेसँग भएको सहमति र त्यसबाट उत्पन्न असन्तुष्टिबारे छलफल भएको नेपालनिकट स्रोतले जनाएको छ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको तीनबुँदे सहमतिप्रति नेपालले असन्तुष्टि जनाउँदै आएका छन्। विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमतिप्रति उनको आपत्ति रहेको बताइएको छ।

यसअघि आइतबार नेपालले आफू निकट नेताहरूसँग नयाँ बानेश्वरस्थित अर्याल होटलमा छलफल गरेका थिए। सोही क्रममा उनले एमालेसँग भएको सहमति र प्रदेश सरकारको नेतृत्व बाँडफाँडबारे आफ्नो असन्तुष्टि राखेका थिए।

नेपालनिकट स्रोतका अनुसार प्रचण्डले यसअघि नै भेट्न खोजे पनि सोमबार बिहान कोटेश्वरमा भेटवार्ता भएको हो। छलफलका क्रममा सहमति गर्दा केही कमजोरी भएको प्रचण्डले स्वीकार गरेको स्रोतको दाबी छ।

एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले लिने समझदारी भएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com