काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा नागरिक एप मार्फत बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सुरु गरेको छ। बैंकका अनुसार नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवामार्फत नागरिक एप प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्रका आधारमा घरमै बसेर व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्।

बैंकले सोमबार जारी गरेको विज्ञप्तिअनुसार १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नेपाली नागरिकले बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सहज रूपमा खाता खोल्न सक्नेछन्। आवश्यक क्यूआर कोड https://nagarik.gibl.com.np⁠ मार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

यस प्रणालीमा ग्राहकको पूर्वसहमतिमा खाता खोल्न आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिने भएकाले एउटै विवरण बारम्बार प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने बैंकको भनाइ छ। यसले ग्राहकको व्यक्तिगत सूचना तथा गोपनीयताको सुरक्षालाई पनि थप मजबुत बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा पुगेर वा भिडियो ‘केवाईसी’ (KYC) मार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंकका अनुसार सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरु गरिएको यो सेवाले सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तारमा नयाँ आयाम थप्नेछ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई अझ सहज, पारदर्शी र प्रविधिमैत्री बनाउनुका साथै ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।

आधुनिक प्रविधि र ग्राहकमैत्री सेवाका कारण ग्लोबल आइएमई बैंकले पछिल्ला वर्षहरूमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ उपाधिसहित ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com