काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन अनुमोदन गर्ने अन्तिम मिति आगामी साउन १४ गतेसम्म कायम गरेको छ। पार्टी महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा क्षेत्र र वडा तहमा प्राप्त आवेदन सोही मितिभित्र अनिवार्य रूपमा अनुमोदन गर्न निर्देशन दिएको हो।
बैठकले पालिका र क्षेत्र तहले मातहतबाट आएका आवेदन तीन–तीन दिनभित्र अनुमोदन गर्नुपर्ने व्यवस्था गरेको छ। साथै, इन्टरनेट पहुँच कम भएका हिमाली तथा विकट जिल्लाका सदस्यहरूको फाराम साउन १५ गतेभित्र केन्द्रमा बुझाउनुपर्ने निर्णय गरिएको छ। डिजिटल प्रणालीबाट सदस्यता प्रक्रिया पूरा गर्न नसकेका स्थानमा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा केन्द्रबाटै सदस्यता अद्यावधिक तथा अनुमोदन गरिने कांग्रेसले जनाएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया