एजेन्सी । जापानको दक्षिणी क्युशु क्षेत्रमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले करिब एक मिटर अग्ला सुनामीका छाल आउन सक्ने चेतावनी जारी गर्दै सर्वसाधारणलाई समुद्री तट तथा तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।
भूकम्पको केन्द्र दक्षिणी कुमामोतो प्रान्त आसपास रहेको बताइएको छ। भूकम्पपछि जापानी सरकारले कुमामोतोसहित नागासाकी, कागोशिमा, फुकुओका, सागा, ओइता र मियाजाकी प्रान्तमा आपत्कालीन भूकम्प चेतावनी जारी गरेको छ।
सरकारी अधिकारीहरूले तटीय क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान र प्रशासनले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेका छन्।
भूकम्पपछि क्युशु इलेक्ट्रिक पावरले सेंदाइ र जेनकाइ आणविक विद्युत् केन्द्रमा कुनै असामान्य अवस्था वा क्षति नदेखिएको जनाएको छ। सुरक्षालाई मध्यनजर गर्दै जेआर क्युशुले रेल सेवा अस्थायी रूपमा रोकेको छ। रोकिएका सेवामा उच्चगतिको शिन्कान्सेन बुलेट रेलसमेत रहेको जनाइएको छ।
जापान विश्वका भूकम्पीय जोखिम उच्च भएका मुलुकमध्ये एक हो। प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापानमा बारम्बार भूकम्प जाने गर्छ। विश्वमा ६ म्याग्निच्युड वा सोभन्दा माथिका भूकम्पमध्ये करिब २० प्रतिशत जापानमा हुने अनुमान गरिएको छ।
यसैबीच, चीनको छिङहाई प्रान्तमा पनि मंगलबार बिहान करिब २० मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ५.७ र दोस्रो ५.८ म्याग्निच्युडको थियो। दुवै भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ।
चीनमा भएका भूकम्पबाट तत्काल मानवीय क्षति भएको कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन। जापानमा पनि समाचार तयार पार्दासम्म ठूलो मानवीय वा भौतिक क्षतिको पुष्टि भएको छैन। स्थानीय अधिकारीहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै दुवै देशमा घटनाक्रमको निरन्तर निगरानी गरिरहेका छन्।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार












प्रतिक्रिया