काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। तर, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ भने सहभागी भएका छैनन्।

सुनसरी घटनामा एक जनाको मृत्यु भएपछि देशका विभिन्न स्थान, विशेषगरी तराई,मधेश क्षेत्रमा प्रदर्शन जारी रहेका बेला सामाजिक सद्भाव, शान्ति-सुरक्षा तथा समसामयिक राजनीतिक अवस्थाबारे साझा धारणा बनाउन सर्वदलीय बैठक आयोजना गरिएको हो।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपाका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनाले सामाजिक सद्भावमा असर पर्न सक्ने भएकाले राजनीतिक दलहरूबीच साझा धारणा र सन्देश आवश्यक रहेको बताए। उनका अनुसार प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि शान्ति, सद्भाव र संयमताका लागि एकीकृत अपिल गर्न बैठक आयोजना गरिएको हो।

यद्यपि, घटनाको प्रत्यक्ष जिम्मेवारी वहन गर्ने सरकारका प्रमुख प्रतिनिधि मानिने प्रधानमन्त्री र गृहमन्त्री बैठकमा अनुपस्थित रहेपछि त्यसप्रति विभिन्न राजनीतिक वृत्तमा चासो व्यक्त गरिएको छ। यस्तो संवेदनशील अवस्थामा सरकारको शीर्ष नेतृत्व बैठकमा सहभागी नभएको विषयले थप राजनीतिक बहस जन्माएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com