काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारले तत्काल सर्वदलीय संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन्।
जारी सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै प्रचण्डले यस्तो संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाई सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले विगतमा भूकम्प, बाढी–पहिरोलगायतका विपद् तथा संविधान निर्माणजस्ता जटिल प्रक्रियामा राजनीतिक दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको उल्लेख गरे।

प्रचण्डले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले साझा समाधानतर्फ अपेक्षाअनुसार अग्रसर हुन नसकेको भन्दै प्रश्न उठाए। साथै, सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद पनि दिए।
उनले वर्तमान परिस्थितिमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताए। संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो।

प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने स्पष्ट गर्दै संवाद, सहमति र राजनीतिक समझदारीबाट मात्रै परिस्थिति सहज बनाउन सकिने धारणा राखे। उनले माओवादी केन्द्रले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक आन्तरिक निर्देशनसमेत दिइसकेको जानकारी दिए।

घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने सम्भावनाप्रति सचेत गराउँदै उनले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।
प्रचण्डले अहिले राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरे। साथै, सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com