काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सुनसरीलगायत देशका विभिन्न स्थानमा पछिल्लो समय भएका घटनालाई लिएर सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गर्ने निर्णय भएको बताएका छन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले विभिन्न समुदायबीच सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए।
‘सर्वदलीय बैठकले सुनसरीलगायत देशका विभिन्न ठाउँमा भएका घटनाबारे सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गर्ने निर्णय गरेको छ,’ उनले भने।
लिङ्देनले सर्वदलीय बैठक सरकारले आयोजना नगरेकोप्रति समेत प्रश्न उठाए। प्रधानमन्त्रीले बैठक बोलाएको भए अझ उपयुक्त हुने भन्दै उनले प्रधानमन्त्रीले बैठक नबोलाए पनि गृहमन्त्री स्वयं सहभागी भएर घटनाबारे राजनीतिक दलहरूलाई जानकारी गराउनुपर्ने धारणा राखेको बताए।
राप्रपाका तर्फबाट आफूले सुनसरीको घटना मात्र नभई अन्य स्थानमा पनि यस्ता घटना पटक–पटक दोहोरिँदै आएको विषयमा सरकारको ध्यानाकर्षण गराएको लिङ्देनले बताए।
विशेषगरी तराई–मधेस क्षेत्रमा हिन्दु धर्मसँग सम्बन्धित चाडपर्वका समयमा यस्ता किसिमका तनाव र विवादका घटना देखिने गरेको उनको भनाइ छ।
‘यो समस्या सुनसरीमा मात्र भएको होइन। यस्ता घटना पटक–पटक भइरहेका छन्। त्यसैले यही एउटा घटना हो र अब समाप्त भयो भनेर सरकारले लिनु हुँदैन,’ लिङ्देनले भने।
उनले समस्याको मूल कारण पहिचान गरी दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरे। बहुमतको सम्मान गर्दै अल्पसंख्यक समुदायको संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै लिङ्देनले सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर र संवेदनशील भएर अघि बढ्नुपर्ने बताए।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया