काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पछिल्ला घटनाक्रमका कारण मुलुकमा सामाजिक सद्भाव बिथोलिन सक्ने जोखिम बढेकाले सबै राजनीतिक दल जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताएका छन्।

आफ्नो आह्वानमा बुधबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले एक समुदायविरुद्ध अर्को समुदायमा घृणा, द्वेष वा आक्रमणको भावना फैलाउने कुनै पनि गतिविधि रोक्न राजनीतिक दलहरूबीच साझा समझदारी बनेको जानकारी दिए।

बैठकको निष्कर्ष सुनाउँदै उनले साम्प्रदायिक गतिविधिले कुनै पनि पक्षलाई फाइदा नपुर्‍याउने बताए।

‘कुनै पनि साम्प्रदायिक गतिविधिले एउटा समुदायले अर्को समुदायप्रति घृणा, द्वेष र आक्रमण गर्ने अवस्था सिर्जना गर्छ भने त्यसबाट कसैलाई पनि फाइदा हुँदैन,’ लामिछानेले भने, ‘यस्ता घटना हुँदा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ भन्ने महसुस गरेका छौँ।’

सुनसरीमा एक युवकको मृत्यु भएको घटनाबारे बोल्दै लामिछानेले घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए। उनले घटनाको सत्यतथ्य पत्ता लगाउन सुरक्षा तथा प्रशासनिक निकायले निष्पक्ष ढंगले अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

घटनाबारे तत्कालै विभिन्न अफवाह र षड्यन्त्रका कुरा पछ्याउनुभन्दा निष्पक्ष छानबिनको निष्कर्ष पर्खनुपर्ने उनको भनाइ छ।

‘घटना वास्तवमा के भएको हो भन्ने सत्यतथ्य बाहिर आउन केही समय लाग्छ। अहिले नै विभिन्न अफवाह र षड्यन्त्रका पछाडि लाग्नुभन्दा जिम्मेवार प्रशासनले गर्ने निष्पक्ष छानबिनको पर्खाइमा छौँ,’ उनले भने।

लामिछानेले घटनामा दोषी देखिने जोसुकै भए पनि कानुनअनुसार कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। दोषीमाथि कारबाही गर्न सरकारले कुनै ढिलाइ गर्न नहुने उनको भनाइ छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com