काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग कुनै पनि राजनीतिक शक्ति वा सरकारको प्रभावमा नपरी पूर्ण निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै कार्कीले निर्वाचन आयोगको भूमिका राजनीतिक दलहरूबीच निष्पक्ष ‘रेफ्री’को हुने स्पष्ट पारे।
उनले आफ्नो कार्यकालमा आयोगलाई स्वतन्त्र, निष्पक्ष र विश्वासयोग्य संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै निष्पक्ष रूपमा काम गर्न नसके पदमा बसिरहनुको कुनै औचित्य नहुने बताए।
कार्कीले निर्वाचनमा अवैध धन, बाहुबल तथा सरकारी स्रोत–साधनको दुरुपयोगलाई कुनै हालतमा सहन नसकिने उल्लेख गरे। यस्ता गतिविधि कानुनविपरीत भएकाले दोषीलाई कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारे।
सरकारी संयन्त्रको दुरुपयोग रोक्न आयोगले विशेष निगरानी र कडाइ गर्ने पनि उनले सुनुवाइ समितिलाई जानकारी दिए।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया