काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ व्यवसायका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) को ३२औँ कार्गो दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बाँनियाले आयात–निर्यात व्यापारलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सरकारका तीनै तहको भूमिका महत्वपूर्ण हुने बताए।
कार्गो व्यवस्थापन, भन्सार प्रणाली, ड्राइपोर्ट सञ्चालन तथा व्यापार सहजीकरणजस्ता विषय संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भए पनि प्रदेश सरकारको तर्फबाट गर्न सकिने सहयोगमा कुनै कमी हुन नदिने उनले स्पष्ट पारे।
व्यवसायीका समस्या र सुझावलाई प्रधानमन्त्रीसँग हुने समन्वय बैठक तथा अन्तरसरकारी छलफलमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बाँनियाले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्यबाट मात्रै व्यापारिक वातावरण सुधार गर्न सकिने बताए।
उनले वीरगञ्जसहित प्रमुख भन्सार नाकामा रहेका ड्राइपोर्ट तथा अन्य व्यापारिक पूर्वाधारलाई थप व्यवस्थित र आधुनिक बनाउनुपर्ने आवश्यकता औंल्याए। आयातित वस्तुको सुरक्षित भण्डारण, छिटो ढुवानी तथा सहज वितरणका लागि आवश्यक पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
हवाई मार्गबाट हुने कार्गो व्यवस्थापनलाई समेत आधुनिक, सुरक्षित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री बाँनियाले प्रविधिको अधिकतम प्रयोगमार्फत कार्गो सेवा छिटो, पारदर्शी र व्यवसायमैत्री बनाउनुपर्ने बताए।
कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै उनले सीप विकास तथा व्यावसायिक तालिम सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न सक्ने बताए।
कर तिर्ने व्यवसायीले राज्यबाट गुणस्तरीय र प्रभावकारी सेवा पाउनुपर्ने बताउँदै मुख्यमन्त्री बाँनियाले तीनै तहका सरकारले सेवा प्रवाहलाई सहज, छरितो र व्यवसायमैत्री बनाउनुपर्ने धारणा राखे।
उनले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले मुलुकको व्यापार सहजीकरणमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाका आगामी नीति तथा कार्यक्रम सफलतापूर्वक कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे।
सफलताका लागि निरन्तर अभ्यास, संघर्ष र धैर्यता आवश्यक पर्ने उल्लेख गर्दै मुख्यमन्त्री बाँनियाले नयाँ पुस्ताले अघिल्लो पुस्ताको संघर्ष र अनुभवबाट सिकेर अघि बढ्नुपर्ने बताए।
मेहनत र श्रमबाट जीवनयापन गर्ने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले उत्पादनशील र श्रमप्रति सम्मान गर्ने समाज निर्माणका लागि राज्य, निजी क्षेत्र र नागरिक समाज सबैको साझा प्रयास आवश्यक रहेको बताए।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया