काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले मधेशमा हिंसा, द्वन्द्व र तनावको राजनीति अन्त्य गरी शान्ति, एकता र विकासको मार्ग रोज्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सिंहले मधेशमा पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक तनावका घटनाले प्रदेशको सामाजिक सद्भावमा असर पुर्याउनुका साथै समग्र विकास प्रक्रियालाई समेत गम्भीर रूपमा प्रभावित पारिरहेको बताएका छन्।
उनले विगतमा भएका आन्दोलन तथा हिंसात्मक गतिविधिका कारण सार्वजनिक तथा निजी भौतिक संरचनामा क्षति पुगेको, शैक्षिक गतिविधि अवरुद्ध भएको, व्यापार–व्यवसाय प्रभावित भएको र लगानीको वातावरण कमजोर बनेको उल्लेख गर्दै यस्ता घटनाले मधेशलाई वर्षौं पछाडि धकेलेको बताएका छन्।
सिंहले हिंसा र द्वन्द्वबाट सबैभन्दा बढी क्षति आम नागरिक र समग्र मधेशले नै बेहोर्नुपरेको भन्दै अब विकास, शान्ति र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले सामाजिक सद्भाव, आपसी विश्वास र साझा विकासलाई समृद्ध मधेश निर्माणको आधारका रूपमा प्रस्तुत गर्दै सबै आमा-बुवा, दाजुभाइ, दिदीबहिनी तथा युवालाई शान्ति, सहिष्णुता र विकासको अभियानमा एकजुट हुन आह्वान गरेका छन्।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया