काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन्। बैठक बुधबार बिहान ११ः३० बजे बस्ने तय भएको छ।
बैठकमा सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था, देशभरको शान्ति–सुरक्षा तथा समसामयिक राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा विस्तृत समीक्षा गरिने जनाइएको छ।
संविधानको भाग–२८ अनुसार गठित राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापति रहने व्यवस्था छ भने रक्षा सचिवले सदस्य–सचिवको जिम्मेवारी सम्हाल्छन्।
राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रणसम्बन्धी विषयमा नेपाल सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण तथा आधुनिकीकरणका लागि रणनीति तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक हातहतियार तथा उपकरणसम्बन्धी नीति निर्माण गर्ने र राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षासम्बन्धी नीतिमा सरकारलाई आवश्यक सुझाव तथा परामर्श दिने संवैधानिक जिम्मेवारी निर्वाह गर्दै आएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया