काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपाल–भारत खुला सीमाको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारसँग ठोस कदम चाल्न आग्रह गरेकी छन्। उनले सीमा क्षेत्रमा आवश्यक परे पर्खाल वा काँडेतार लगाएर सुरक्षा व्यवस्था सुदृढ गर्नुपर्ने धारणा राखिन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद तामाङले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) ले रोहिंग्या तथा पाकिस्तानी मुस्लिमको सम्भावित घुसपैठबारे सार्वजनिक रूपमा दिएको अभिव्यक्तिपछि सुनसरीमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको घटनाले गम्भीर प्रश्न उठाएको बताइन्।
उनले राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषयमा सार्वजनिक अभिव्यक्ति दिँदा त्यसको सामाजिक प्रभावबारे पनि सुरक्षा नेतृत्वले गम्भीर रूपमा विचार गर्नुपर्ने उल्लेख गरिन्।
‘सीमा सुरक्षा र आन्तरिक सुरक्षासम्बन्धी यस्ता संवेदनशील विषय सार्वजनिक गरेर समाजमा त्रास र तनाव सिर्जना गर्ने हो कि रणनीतिक रूपमा सुरक्षा व्यवस्था बलियो बनाउने हो भन्ने विषयमा स्पष्टता आवश्यक छ,’ उनले भनिन्।
सांसद तामाङले नेपाल–भारत खुला सीमाको व्यवस्थापनबारे अब राज्यले गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताउँदै सीमा क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण र सुरक्षा निकायको प्रभावकारी परिचालन गर्न सरकारसँग माग गरिन्।
‘खुला सीमाको वर्तमान व्यवस्थापनबारे पुनर्विचार गर्ने समय आएको छ। आवश्यकता परे पर्खाल वा काँडेतार जस्ता संरचना निर्माण गरी सीमा क्षेत्रको सुरक्षा थप मजबुत बनाउनुपर्छ,’ उनले भनिन्।
सांसद तामाङले सुनसरी घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिन्।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया