काठमाडौं । मधेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्था, बढ्दो तनाव र पछिल्ला घटनाक्रमबारे साझा धारणा बनाउन मधेश केन्द्रित राजनीतिक दलहरूको संयुक्त बैठक काठमाडौंमा बसेको छ।
बैठकमा जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत विभिन्न मधेशवादी दलका शीर्ष नेताहरू सहभागी छन्। उनीहरूले मधेशमा पछिल्ला दिनमा देखिएको असहज परिस्थितिको समीक्षा गर्दै आगामी राजनीतिक र संगठनात्मक रणनीतिबारे छलफल गरिरहेका छन्।
छलफलका क्रममा सहभागी नेताहरूले मधेशमा विकसित अवस्थाप्रति सरकार पर्याप्त गम्भीर र संवेदनशील नदेखिएको धारणा राखेका छन्। पछिल्ला घटनामा भएको मानवीय क्षति, घाइतेहरूको अवस्था तथा शान्ति–सुरक्षासम्बन्धी विषयलाई बैठकमा प्रमुख एजेन्डाका रूपमा उठाइएको जनाइएको छ।
राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बैठकपछि साझा निष्कर्षसहित आगामी कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार वर्तमान परिस्थितिमा शान्ति–सुरक्षा कायम राख्ने, नागरिकको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक सद्भाव जोगाउने विषयमा दलहरूबीच साझा दृष्टिकोण तयार पारिनेछ।
मधेशमा विकसित पछिल्लो अवस्थाबारे एकीकृत धारणा निर्माण गर्दै आवश्यक राजनीतिक पहल अघि बढाउने उद्देश्यका साथ बैठक जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया