जनकपुरधाम । मधेश प्रदेश सरकारले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा चुनौती र सामाजिक तनावलाई गम्भीर रूपमा समीक्षा गर्दै नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई सर्वोच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले जारी गरेको प्रेस विज्ञप्तिमा प्रदेश सरकारले सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायसँग घनिष्ठ समन्वय गर्दै सम्भावित सुरक्षा जोखिमको समयमै पहिचान, रोकथाम र प्रभावकारी व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव तथा धार्मिक–सांस्कृतिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणलाई संयमित, जिम्मेवार र सहयोगी भूमिका निर्वाह गर्न विशेष अपिल गरेको छ।

विज्ञप्तिमार्फत सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा अन्य प्लेटफर्मबाट अपुष्ट, भ्रामक वा समाजमा द्वेष, हिंसा र अशान्ति फैलाउन सक्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ। प्रदेश सरकारले आधिकारिक निकायबाट जारी हुने सूचनामाथि मात्रै विश्वास गर्न नागरिकलाई अनुरोध गरेको छ।

मन्त्रिपरिषद्ले पछिल्ला घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

प्रदेश सरकारले शान्ति–सुरक्षा, सुशासन, कानुनी शासन तथा नागरिकका संवैधानिक र कानुनी अधिकारको संरक्षणमा आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याउँदै सामाजिक एकता र सद्भाव कायम राख्न सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com