काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक तनाव र सामाजिक असहजताका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धार्मिक सद्भाव कायम राख्न पहल थालेको छ।

शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजित छलफलमा पार्टी सभापति रवि लामिछानेले हिन्दु र मुस्लिम समुदायका धार्मिक अगुवासँग संयुक्त बैठक गरी शान्ति, सहिष्णुता र सामाजिक एकता कायम राख्ने विषयमा छलफल गरेका हुन्।

बैठकमा मुस्लिम समुदायका धर्मगुरु मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद तथा विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाल सहभागी थिए।

छलफलका क्रममा सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता तथा सिरहाको गोलबजार घटनामा मृत्यु भएका १५ वर्षीय गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हिंसा र द्वन्द्वको साटो संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको रास्वपाले जनाएको छ।

सभापति लामिछानेले देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शन, तोडफोड र तनावलाई थप बढ्न नदिन दुवै समुदायका धार्मिक अगुवाले संयमता, शान्ति र भाइचाराको सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

बैठकमा सहभागी धार्मिक अगुवाहरूले नेपालमा लामो समयदेखि कायम रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव जोगाउन आ–आफ्नो समुदायमा शान्ति र संयमताको सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com