काठमाडौं । भारतको दिल्लीमा भएको विद्यार्थी आन्दोलनपछि चर्चामा आएका कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेसँग भेट्न विभिन्न राजनीतिक दलका नेताहरूको चासो बढ्दै गएको छ। महाराष्ट्रका मन्त्रीदेखि पूर्वमुख्यमन्त्रीसम्मले उनीसँग भेटघाट वा संवाद गरेका छन् भने अन्य नेताहरूले पनि भेटका लागि समय मागिरहेका छन्।
सीजेपीको नेतृत्वमा भएको विद्यार्थी आन्दोलनपछि तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका थिए। आन्दोलनपछि स्वास्थ्यमा समस्या देखिएपछि दीपके केही समय दिल्लीमै उपचाररत रहे। टाइफाइडबाट स्वास्थ्यलाभ गरेपछि उनी बुधबार आफ्नो गृहनगर छत्रपति सम्भाजीनगर फर्किएका हुन्।
घर फर्किएलगत्तै उनको निवासमा विभिन्न दलका नेताहरूको आवतजावत बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बिहीबार शिवसेना (उद्धव बालासाहेब ठाकरे समूह)का नेता चन्द्रकान्त खैरे दीपकेलाई भेट्न पुगेका थिए। सोही क्रममा उनले पूर्वमुख्यमन्त्री उद्धव ठाकरेसँग टेलिफोनमार्फत दीपकेको कुराकानी गराएका थिए। ठाकरेले आन्दोलनको सफलताका लागि बधाई दिँदै मुम्बईस्थित आफ्नो निवास ‘मातोश्री’मा आउन निमन्त्रणा दिएका थिए। दीपकेले सबैसँग संवाद गर्न तयार रहेको र आवश्यक परे भेट गर्न आउने बताएका छन्।
यसअघि महाराष्ट्र सरकारका मन्त्री सञ्जय शिरसाट पनि दीपकेको निवास पुगेका थिए। उनले दीपकेको परिवारसँग लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै आन्दोलनपछि उनको सुरक्षाप्रति चासो व्यक्त गरेका छन्। दीपकेलाई सुरक्षा उपलब्ध गराउन मुख्यमन्त्री देवेन्द्र फडणवीससँग छलफल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
त्यस्तै, शिवसेनाका विधान परिषद् सदस्य बच्चु कडूले पनि व्यक्तिगत रूपमा दीपकेलाई भेट्दै आन्दोलन सफलतापूर्वक सञ्चालन गरेकोमा बधाई दिएका छन्। आफू कुनै दल वा सरकारको प्रतिनिधिका रूपमा नभई एक आन्दोलनकारीका रूपमा अर्को आन्दोलनकारीलाई भेट्न आएको उनले बताएका छन्।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया