काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकमा देखिएको वर्तमान द्वन्द्व र तनाव समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताएका छन्।
शुक्रबार राष्ट्रियसभा बैठकमा धारणा राख्दै सिटौलाले प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरे पनि जनतासँग वास्तविक संवाद भने नगरेको टिप्पणी गरे। उनले जनताका आवाज र जिज्ञासाको उत्तर दिने सबैभन्दा उपयुक्त थलो संसद् भएकाले प्रधानमन्त्री प्रतिनिधिसभा र राष्ट्रियसभामा उपस्थित भएर जवाफदेही बन्नुपर्ने बताए।
‘प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो, तर जनतासँग संवाद गर्नुभएको छैन। जनताका प्रश्न उठ्ने ठाउँ संसद् हो, त्यसैले यहाँ आएर ती प्रश्नको उत्तर दिनुपर्छ,’ सिटौलाले भने।
उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर स्पष्ट धारणा नराखे आगामी दिनमा पनि यस्ता समस्या दोहोरिन सक्ने चेतावनी दिए।
सिटौलाले पछिल्लो घटनाक्रमका क्रममा प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग आवश्यक परामर्श र संवाद नगरेको पनि उल्लेख गरे। समयमै दलहरूबीच छलफल भएको भए परिस्थिति थप जटिल बन्न नपुग्ने उनको भनाइ थियो।
प्रधानमन्त्री जनताप्रति उत्तरदायी, जवाफदेही र पारदर्शी भएर अघि बढे कांग्रेस सरकारलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न तयार रहेको सिटौलाले स्पष्ट पारे।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया