काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य सुनिल थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि देशका विभिन्न स्थानमा देखिएको हिंसात्मक अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबै पक्षसँग अपिल गरेका छन्।
शुक्रबार सार्वजनिक अपिल जारी गर्दै थापाले देवानगञ्ज घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले घटनापछि उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति–सुरक्षा कायम गर्न तथा सबै पक्षले संयमता अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। सरकार तथा सम्बन्धित निकायले परिस्थितिलाई नियन्त्रणमा लिन हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गर्दै उनले नेपालजस्तो बहुभाषिक, बहुजातीय र बहुधार्मिक समाजमा अत्यन्त संवेदनशील ढंगले निर्णय र कदम चालिनुपर्ने बताएका छन्।
सरकारको भूमिकाप्रति टिप्पणी गर्दै थापाले देशमा शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम गर्ने प्रमुख जिम्मेवारी सरकारको भएको उल्लेख गरेका छन्। उनले सबै राजनीतिक दल र सरोकारवालासँग सहकार्य गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन्।
थापाले वर्तमान परिस्थितिमा राजनीतिक मतभेद र तिक्तता बिर्सेर साझा रूपमा समस्याको समाधानतर्फ अघि बढ्न सबै राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई आह्वान गरेका छन्। सरकारलाई पनि सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक परिस्थिति साम्य पार्न र सामाजिक सद्भाव कायम गर्न अब ढिलाइ गर्न नहुने उनको भनाइ छ।
उनले सरकार परिवर्तनशील भए पनि देश, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय एकताको संरक्षण सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै समुदायबीच एकता, मित्रता, सहिष्णुता र आपसी विश्वासलाई थप मजबुत बनाउन आग्रह गरेका छन्।
सदियौँदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक र जातीय सद्भाव नै देशको पहिचान र गौरव भएको उल्लेख गर्दै थापाले त्यसलाई अक्षुण्ण राखेर शान्ति, अमनचयन र सुव्यवस्था कायम गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
यसैगरी, देवानगञ्ज घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न पनि उनले सरकारसँग माग गरेका छन्।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया