काठमाडौं । नेदरल्यान्ड्स भ्रमणमा जितविहीन रहँदै स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ले अबको मुख्य लक्ष्य ओडिआई (एकदिवसीय) मान्यता जोगाउने रहेको बताएका छन्।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेलेका चारै खेलमा पराजित भएपछि नेपाल शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ। यससँगै एकदिवसीय मान्यता जोगाउने चुनौती थपिएको छ।
भ्रमणको समीक्षा गर्दै कप्तान पौडेलले टोलीले आफ्नो स्तरअनुसार ब्याटिङ र फिल्डिङ दुवै विभागमा प्रदर्शन गर्न नसकेको स्वीकार गरे। उनका अनुसार पिचको अवस्था बुझ्न नसक्नु र ब्याटरहरूले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्नु कमजोर नतिजाको मुख्य कारण बन्यो।
नेदरल्यान्ड्सले छोटो बल (सर्ट बल) रणनीति प्रभावकारी रूपमा प्रयोग गर्दा नेपाली ब्याटर त्यसअनुसार खेल्न नसकेको उनले बताए। पहिलो खेलमा आफू र दीपेन्द्रसिंह ऐरीले राम्रो सुरुआत गरे पनि त्यसलाई ठूलो साझेदारीमा परिणत गर्न नसकिएको उनको भनाइ छ।
कप्तान पौडेलले अन्तिम खेलमा सन्दीप लामिछानेलाई विश्राम दिनु कठिन निर्णय भएको उल्लेख गर्दै युरोपेली कन्डिसनमा खेल्नु चुनौतीपूर्ण भए पनि त्यसलाई बहाना बनाउन नमिल्ने स्पष्ट पारे।
नेदरल्यान्ड्स भ्रमणको निराशाजनक प्रदर्शनलाई बिर्सँदै अब टोलीको सम्पूर्ण ध्यान आगामी ओमान सिरिज मा केन्द्रित हुने र राम्रो प्रदर्शनमार्फत नेपालको ओडिआई मान्यता जोगाउने विश्वास उनले व्यक्त गरे।
प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार













प्रतिक्रिया