काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह गरेका छन्।

अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जली सन्देश जारी गर्दै ओलीले यस्तो आग्रह गरेका हुन्।

अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले नेपालमा किसान आन्दोलनलाई वैचारिक तथा संगठनात्मक रूपमा सुदृढ बनाउन महत्वपूर्ण योगदानको स्मरण गरेका छन्। सामन्तवादी भूस्वामित्वको समयमा अमात्यले जसको जोत, उसको पोत भन्ने नारासहित किसानहरूलाई आफ्नो हक र अधिकारका लागि संगठित हुन प्रेरित गरेको ओलीले उल्लेख गरेका छन्। अमात्यले निरंकुशताविरुद्धको संघर्ष तथा वामपन्थी आन्दोलनमा निर्वाह गरेको भूमिका नेपाली राजनीतिक इतिहासमा सधैं स्मरणीय रहने ओलीले बताएका छन्।

सन्देशमा अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्धको संघर्षका निडर तथा क्रान्तिकारी योद्धाका रूपमा स्मरण गरिएको छ। ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नाराका साथ पन्तले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानहरूको पक्षमा आन्दोलनको नेतृत्व गरेको सन्देशमा उल्लेख गरिएको छ।

पन्तलाई २०१० साल साउन १७ गते गोली हानी हत्या गरिएको र किसान आन्दोलनलाई दबाउने उद्देश्यले उनको शिर छिनाएर प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको इतिहासको अत्यन्त दुखद अध्यायका रूपमा स्मरण हुने गरेको ओलीले उल्लेख गरेका छन्।

ओलीको सन्देशमा दुवै नेताको त्याग, समर्पण र क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीको रक्षा, सामाजिक न्याय, समानता र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने ओलीले उल्लेख गरेका छन्।

ओलीले किसान आन्दोलनका अमर शहीद भीमदत्त पन्त र नेता तुलसीलाल अमात्यप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उनीहरूको योगदान नेपाली राजनीतिक तथा किसान आन्दोलनको इतिहासमा सदैव सम्मानपूर्वक स्मरण भइरहने ओलीले जनाएका छन्।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com