जनकपुरधाम । संयुक्त हिन्दू मोर्चा र सरकारबीच आइतबार जनकपुरधाममा दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको छलफलपछि दुवै पक्षबीच मौखिक समझदारी भएको र मोर्चाले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ।

जनकपुरस्थित यात्री निवासमा भएको वार्ताका क्रममा मोर्चाले आफ्ना माग समेटिएको संशोधित मागपत्र गृहमन्त्री गुरुङलाई बुझाएको छ। छलफलका क्रममा यसअघि सार्वजनिक भएको १३ बुँदे मागपत्रका केही विषयमा स्पष्टता ल्याउँदै थप बुँदा समावेश गरी मागपत्रलाई १८ बुँदे बनाइएको जनाइएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार वार्ताको मुख्य उद्देश्य शनिबार भएको छलफलपछि देखिएका अन्योल हटाउनु थियो।

उनले भने, ‘हिजो सार्वजनिक भएका केही विषय, विशेषगरी लेटरप्याड र हस्ताक्षरसम्बन्धी अन्योलबारे मोर्चाको जिज्ञासा थियो। गृहमन्त्रीज्यूले त्यसबारे स्पष्ट पार्नुभयो। छलफलपछि उहाँहरू सन्तुष्ट हुनुभयो र आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत हुनुभएको छ।’

वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले मागपत्रका केही बुँदा परिमार्जन गरिएको जानकारी दिए। उनका अनुसार गृहमन्त्रीले उठाइएका मागहरू सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएका छन्।

‘केही विषय सच्याइएको छ। हाम्रा मागप्रति सरकारले सकारात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ। गृहमन्त्रीले बल प्रयोग नगर्ने र संवादमार्फत समाधान खोज्ने विश्वास दिलाउनुभएको छ,’ उनले भने।

यसअघि शनिबार राति गृहमन्त्रीलाई बुझाइएको १३ बुँदे मागपत्रमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयदेखि आन्दोलनका कार्यक्रम फिर्ता लिने प्रस्तावसम्मका बुँदा समावेश भएका थिए। ती विषय सार्वजनिक भएपछि विभिन्न कोणबाट टिप्पणी र बहस सुरु भएको थियो। आइतबारको वार्ताले ती विषयमा स्पष्टता ल्याउने प्रयास गरिएको सरकारी पक्षको भनाइ छ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com