विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीविरुद्ध आफ्नै पार्टीभित्र असन्तुष्टि चुलिएको छ। अध्यक्ष केपी शर्मा ओलीको निर्देशन कार्यान्वयन नगरेको तथा गठबन्धनसम्बन्धी सहमतिबारे सांसदहरूसँग छलफल नगरेको आरोप लगाउँदै एमालेका केही सांसदले कार्कीलाई संसदीय दलको नेताबाट हटाउने तयारी थालेका छन्।

असन्तुष्ट पक्षका एक नेताका अनुसार अहिले औपचारिक रूपमा हस्ताक्षर अभियान सुरु नभए पनि त्यसतर्फ वातावरण बनिरहेको छ। उनका अनुसार नेतृत्वले पार्टीको निर्णय बेवास्ता गरेको, सांसदहरूसँग संवाद नगरेको र एकल निर्णयमा अघि बढेको भन्दै अब राजनीतिक कदम चाल्नुपर्ने अवस्था सिर्जना भएको छ।

यता एमाले सांसद रेवतीरमण भण्डारीले भने संसदीय दलको विधानअनुसार दलको नेता हटाउन दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले अहिलेको अवस्थामा त्यो सम्भव नरहेको बताएका छन्। उनका अनुसार असन्तुष्ट पक्षसँग बहुमत जुटाउने अवस्था समेत देखिएको छैन।

एमालेका केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई विराटनगर आएपछि पार्टीभित्रको गतिविधि थप तीव्र बनेको स्रोतको दाबी छ। राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशसभा सदस्यहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै नयाँ समीकरणका लागि समर्थन जुटाइरहेको बताइएको छ।

स्रोतका अनुसार यी गतिविधिले मुख्यमन्त्री कार्कीमाथि दबाब बढेको छ। आवश्यक परे पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयंले पनि सांसदहरूसँग प्रत्यक्ष संवाद गरिरहेको दाबी गरिएको छ।

पार्टीभित्र अध्यक्ष ओलीले कार्कीको स्थानमा ताप्लेजुङका प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेको चर्चा छ। सोही उद्देश्यअनुसार बहुमत सांसदलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको स्रोतले जनाएको छ।

यद्यपि एमाले संसदीय दलको विधानअनुसार दलको नेता हटाउन संसदीय दलका कायम सदस्यको दुई तिहाइ बहुमतबाट अविश्वास प्रस्ताव पारित हुनुपर्ने व्यवस्था छ। त्यसैले दलको नेतृत्व परिवर्तन सहज नहुने देखिन्छ।

मुख्यमन्त्री कार्की निकट एक सांसदका अनुसार पार्टी नेतृत्व एकमत भएर अघि बढे दलको नेता परिवर्तन सम्भव भए पनि त्यसले तत्काल मुख्यमन्त्री परिवर्तनको अवस्था सिर्जना गर्दैन। उनका अनुसार दलको नेतृत्व गुमे पनि कार्कीले संवैधानिक प्रक्रियाअनुसार प्रदेशसभामा विश्वासको मत सामना गर्न पाउनेछन्।

नेकपा एमाले र नेकपा (नेकपा)बीच भएको तीनबुँदे राजनीतिक सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तय भए पनि कोशीमा मुख्यमन्त्रीको विषयमा पार्टीभित्रै सहमति जुट्न नसक्दा नयाँ सरकार गठन प्रक्रिया अझै अन्योलमा परेको छ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com