काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशम्शेर राणाले राजावादी अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारसँग उनको तत्काल रिहाइको माग गरेका छन्।

सोमबार जारी प्रेस विज्ञप्तिमार्फत राणाले विचार तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत अधिकार भएको उल्लेख गर्दै सरकारको आलोचना गरेका आधारमा कसैलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताएका छन्।

उनले लोकतन्त्रमा आलोचना, फरक मत र असहमतिलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै सरकारको आलोचना गर्न नपाइने अवस्था सिर्जना भए लोकतान्त्रिक शासन प्रणालीको औचित्यमाथि नै प्रश्न उठ्ने बताएका छन्।

राणाले विविध जाति, धर्म, संस्कृति र परम्पराबीचको सहिष्णुता तथा सहअस्तित्व नेपाली समाजको विशेषता भएको उल्लेख गर्दै पछिल्ला दिन देशका विभिन्न स्थानमा देखिएका झडप, आगजनी र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्।

यस्तो परिस्थितिमा नागरिकको सुरक्षा सुनिश्चित गर्नु, शान्ति कायम राख्नु र सरकारलाई जिम्मेवार बनाउन खबरदारी गर्नु सबै नागरिकको साझा दायित्व भएको उनको भनाइ छ।

विज्ञप्तिमा राणाले संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेकै कारण दुर्गा प्रसाईलाई निवासबाट पक्राउ गरिएको दाबी गर्दै उक्त कदमको निन्दा गरेका छन्।

उनले सरकारसँग प्रसाईलाई तत्काल रिहा गर्न माग गरेका छन्। प्रसाईलाई आइतबार राति पक्राउ गरिएको थियो भने हाल उनी भक्तपुर प्रहरीको हिरासतमा रहेका छन्।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com