काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको भनिएको घटनाबारे सरकारसँग तत्काल आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले सीमा सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा सरकारले मौन बस्न नहुने बताएका हुन्। उनले घटनाबारे तथ्य सार्वजनिक गर्दै कूटनीतिक माध्यमबाट भारत सरकारको ध्यानाकर्षण गराउन आग्रह गरेका छन्।
थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै राष्ट्रिय सार्वभौमिकता, सीमा सुरक्षा र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा सरकार जिम्मेवार, संवेदनशील र सक्रिय हुनुपर्ने उल्लेख गरेका छन्।
उनका अनुसार यदि नेपाली भूमिमा विदेशी सुरक्षा बल प्रवेश गरी संरचना भत्काएको घटना सत्य हो भने त्यसलाई सामान्य रूपमा लिन नहुने र सरकारले आवश्यक कूटनीतिक पहलमार्फत आफ्नो स्पष्ट अडान प्रस्तुत गर्नुपर्छ।
‘पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको भनिएको घटनाबारे नेपाल सरकारले तत्काल आफ्नो धारणा सार्वजनिक गरोस् र भारत सरकारको ध्यानाकर्षण गराओस्,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले सीमा सम्बन्धी विषयमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया