काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा एक कार खसेको प्रारम्भिक सूचना प्राप्त भएपछि प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलतर्फ परिचालित भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहका अनुसार बसको ठक्करपछि कार सुनकोशी नदीमा खसेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको हो।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा अनुसन्धानका लागि घटनास्थलतर्फ पठाइएको उनले बताए।
कारमा कति जना सवार थिए भन्ने विषय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। त्यसैगरी नदीमा खसेको कारको नम्बर र ठक्कर दिएको भनिएको बसको विवरण पनि हालसम्म पहिचान हुन बाँकी छ।
प्रहरीले घटनाको यथार्थ विवरण संकलन गर्नुका साथै उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया