काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले पार्टीको समर्थनमा सार्वजनिक पदमा पुगेका नेता तथा जनप्रतिनिधिले व्यक्तिगतभन्दा संगठनको नीति, सिद्धान्त र अनुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

पार्टीको एक कार्यक्रममा बोल्दै उनले उपसभामुख रूबीकुमारी ठाकुरप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीले दिएको अवसर र योगदानको सम्मान गर्न नसकेको आरोप लगाए। पार्टीको सिफारिसमा नियुक्त भएका कर्मचारीलाई हटाउने निर्णयप्रति आपत्ति जनाउँदै उनले यस्तो कदमले संगठनप्रतिको जिम्मेवारी र प्रतिबद्धतामाथि प्रश्न उठाएको टिप्पणी गरे।

किराँतीले श्रम संस्कृति पार्टीको समर्थनबाट निर्वाचित वा नियुक्त भएका मेयर, सांसद, मन्त्री तथा अन्य जनप्रतिनिधिले व्यक्तिगत सोचभन्दा पार्टीको आधिकारिक नीति र निर्णयअनुसार काम गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार संगठनभित्र साझा उद्देश्य, स्पष्ट कार्यदिशा र कडा अनुशासन कायम गर्न सके मात्र पार्टीलाई बलियो र प्रभावकारी राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सकिन्छ।

पार्टीलाई संस्थागत र प्रणालीगत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै किराँतीले आगामी राजनीतिक लक्ष्यसमेत सार्वजनिक गरे। उनले श्रम संस्कृति पार्टीलाई मुलुककै पहिलो राजनीतिक शक्ति बनाउने, पार्टी अध्यक्षलाई प्रधानमन्त्रीको जिम्मेवारीसम्म पुर्‍याउने तथा अध्यक्षलाई सर्वस्वीकार्य राष्ट्रिय नेताका रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताए।

उनले पार्टीका शुभेच्छुकदेखि नेतृत्व तहसम्म सबैले व्यक्तिगत धारणाभन्दा पार्टीको आधिकारिक लाइनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै स्पष्ट विचार, सुदृढ संगठन र अनुशासित कार्यशैलीले मात्रै पार्टीलाई अन्य राजनीतिक शक्तिभन्दा फरक र बलियो बनाउन सकिने धारणा राखे।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com