काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारबीच नेपाल–मंगोलिया सम्बन्ध तथा शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने, विशेषगरी विद्यालय शिक्षामा चेस खेलको प्रवर्द्धन गर्ने विषयमा केन्द्रित भएर विचार–विमर्श भएको मन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र मंगोलियाबीच रहेको ऐतिहासिक कूटनीतिक सम्बन्ध, समान भौगोलिक अवस्था र सांस्कृतिक निकटताको चर्चा गर्दै आगामी दिनमा शिक्षा, खेलकुद र अन्य क्षेत्रमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे।
उनले विद्यालय शिक्षामा खेलकुदलाई प्रभावकारी रूपमा समावेश गर्ने सरकारको नीति उल्लेख गर्दै विशेषगरी चेस खेलको विकासका लागि मंगोलियन सरकार तथा मंगोलियन चेस फेडेरेशनसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए। साथै नेपाल चेस महासंघ र मंगोलियन चेस फेडेरेशनबीच संस्थागत सहकार्यका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाए।
पूर्वप्रधानमन्त्री जान्दानशातारले चेसलाई केवल खेलका रूपमा नभई शिक्षाको प्रभावकारी माध्यमका रूपमा लिनुपर्ने धारणा राख्दै मंगोलियाले विद्यालय शिक्षामै चेसलाई समायोजन गरेर सकारात्मक नतिजा हासिल गरेको अनुभव साझा गरे।
उनले चेसले विद्यार्थीमा समालोचनात्मक सोच, विश्लेषण क्षमता, निर्णय गर्ने सीप, समस्या समाधान गर्ने दक्षता तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।
नेपाल र मंगोलिया दुवै भूपरिवेष्ठित मुलुक भएकाले साझा चुनौती र सम्भावनाहरू रहेको उल्लेख गर्दै उनले चेस शिक्षाको अनुभव नेपालसँग साझा गर्न तथा विद्यालय तहमा चेस प्रवर्द्धनका लागि आवश्यक प्राविधिक तथा संस्थागत सहयोग गर्न मंगोलियन सरकार र मंगोलियन चेस फेडेरेशन पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया