काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति समयमै कार्यान्वयन नभए भदौ महिनादेखि पुनः देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।
साउन १६ र १७ गते बसेको महासंघको परिषद् बैठकले सरकारसँग भएका सहमतिहरू कार्यान्वयनमा बेवास्ता गरिएको निष्कर्ष निकाल्दै माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा जाने निर्णय गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले पटक–पटक गरेका प्रतिबद्धता पूरा नगरे विगतको भन्दा व्यापक र प्रभावकारी आन्दोलन सञ्चालन गरिने बताए। उनका अनुसार शिक्षक समुदायको उल्लेखनीय सहभागितासहित सडक संघर्षका कार्यक्रम अघि बढाइनेछ।
शिक्षा नियमावलीप्रति असन्तुष्टि जनाउँदै उनले शिक्षकका जायज माग पूरा गराउन थप आन्तरिक छलफलपछि आन्दोलनका विस्तृत कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए।
महासंघले स्मरण गराएको छ कि २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको थियो। २९ दिनसम्म चलेको उक्त आन्दोलनपछि २०८२ वैशाख १७ गते सरकार र महासंघबीच नौबुँदे सहमति भएको थियो।
तर, सहमति भएको लामो समय बितिसक्दा पनि शिक्षा ऐन जारी नभएको तथा सहमतिका अधिकांश बुँदा कार्यान्वयनमा नआएको भन्दै महासंघले सरकारप्रति असन्तुष्टि जनाएको छ।
महासंघले अबका आन्दोलनका कार्यक्रम छिट्टै सार्वजनिक गर्ने र सरकारको कदमअनुसार आफ्नो रणनीति तय गरिने जनाएको छ।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया