काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलन अहिले राष्ट्रिय राजनीतिको केन्द्रबाट क्रमशः कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। उनले विशेषगरी नयाँ पुस्तालाई आकर्षित गर्न नसक्नु वामपन्थी आन्दोलनको सबैभन्दा ठूलो चुनौती बनेको बताए।
काठमाडौंमा आयोजित २४औँ बोत्ले स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै पोखरेलले विगतमा वामपन्थी शक्तिहरूले जनमतमा स्पष्ट वर्चस्व कायम गरे पनि अहिले त्यो अवस्था नरहेको स्वीकार गरे।
उनले कुनै समय कम्युनिस्ट दलहरूको पक्षमा करिब ६० प्रतिशत मत रहेको स्मरण गर्दै अहिले भने वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट क्रमशः पछाडि धकेलिएको बताए।
पोखरेलका अनुसार वर्तमान राजनीतिक परिदृश्यमा कम्युनिस्ट शक्तिहरू पहिलो वा दोस्रो स्थानमा सीमित नरही तेस्रो र चौथो शक्तिका रूपमा देखिन थालेका छन्, जुन आन्दोलनका लागि गम्भीर चिन्ताको विषय हो।
उनले कम्युनिस्ट आन्दोलनका कार्यक्रमहरूमा युवा सहभागिता उल्लेखनीय रूपमा घटेको उल्लेख गर्दै बदलिएको पुस्ताको अपेक्षा र सोचअनुसार पार्टीहरूले आफूलाई रूपान्तरण गर्न नसकेको स्वीकार गरे।
‘स्मार्टफोन र डिजिटल प्रविधिसँग हुर्किएको आजको युवा पुस्ताले छिटो परिणाम र प्रभावकारी कार्यशैली खोज्छ। तर हाम्रो राजनीति, प्रस्तुति र कार्यपद्धतिले उनीहरूको विश्वास जित्न सकेको छैन,’ उनले भने।
महासचिव पोखरेलले बदलिँदो समयअनुसार राजनीतिक दलहरूले आफ्नो कार्यशैली, सोच र जनतासँग जोडिने तरिका परिवर्तन नगरे वामपन्थी आन्दोलन थप चुनौतीमा पर्ने संकेत गरे।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया