काठमाडौं । देशको वर्तमान राजनीतिक परिदृश्यबीच सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ गठन गर्ने अन्तिम तयारी गरेका छन्। मधेस, थरूहट, दलित, उत्पीडित तथा सीमान्तकृत समुदायका अधिकारलाई केन्द्रमा राखेर गठन हुन लागेको यो मोर्चाको औपचारिक घोषणा आगामी साउन २३ गते विशेष कार्यक्रममार्फत गरिने भएको छ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र बहुजन एकता पार्टी सहभागी हुनेछन्।
फरक राजनीतिक पृष्ठभूमि र क्षेत्रीय प्रभाव भएका यी दलहरूले साझा एजेन्डामा सहकार्य गर्दै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य लिएका छन्। मोर्चाले आगामी निर्वाचनमा अलग–अलग प्रतिस्पर्धा नगरी एउटै साझा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने रणनीति बनाएको छ।
मोर्चाका नेताहरूका अनुसार दीर्घकालीन र संस्थागत सहकार्यका लागि दक्षिण अफ्रिकाको अफ्रिकन नेशनल कंग्रेस (एएनसी) मोडललाई आधार बनाउने समझदारी भएको छ। विचार, नीति र कार्यदिशामा थप सहमति जुट्दै गए भविष्यमा पूर्ण पार्टी एकतासम्म पुग्ने सम्भावना पनि खुला राखिएको उनीहरूको भनाइ छ।
मोर्चाले संघीयता, समावेशिता तथा समावेशी लोकतन्त्रजस्ता राजनीतिक उपलब्धिको संरक्षणलाई प्राथमिकतामा राख्ने जनाएको छ। साथै सामाजिक तथा आर्थिक रूपमा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्दै परम्परागत राजनीतिक शक्तिको प्रभावकारी विकल्प बन्ने लक्ष्य पनि अघि सारेको छ।
साउन २३ गते हुने घोषणा सभामा मोर्चाको साझा न्यूनतम कार्यक्रम, संगठनात्मक संरचना तथा आगामी राजनीतिक कार्ययोजना सार्वजनिक गरिने तयारी गरिएको छ।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया