एजेन्सी । अमेरिका र इरानबीच सम्भावित वार्ताको तयारी भइरहेका बेला खाडी क्षेत्रमा तनाव थप तीव्र बनेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको दाबी सार्वजनिक भएपछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको हो।
द जेरुसेलम पोस्टका अनुसार मंगलबार बिहान आईआरजीसीले अमेरिकी सैन्य अड्डामाथि कम्तीमा तीन वटा ड्रोन प्रहार गरेको जनाएको छ। यद्यपि, उक्त घटनाबाट भएको क्षति वा मानवीय हताहतबारे कुनै आधिकारिक पुष्टि भएको छैन।
यसैबीच, युके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले ओमानको तट नजिक एउटा मालवाहक जहाज अज्ञात प्रक्षेप्यास्त्रको आक्रमणमा परेको जनाएको छ। घटनाको अनुसन्धान सुरु गरिएको छ भने सो समुद्री क्षेत्रमा आवागमन गर्ने जहाजलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि ‘अन्तिम अवसर’ दिइएको भन्दै वार्ता असफल भए अमेरिका सैन्य विकल्प प्रयोग गर्न पछि नहट्ने चेतावनी पुनः दोहोर्याएका छन्।
तनावपूर्ण अन्तर्राष्ट्रिय अवस्थाबीच इरानको आन्तरिक राजनीतिमा पनि सेना थप शक्तिशाली बनेको दाबी गरिएको छ।
इजरायली टेलिभिजन च्यानल–१४ का अनुसार सर्वोच्च नेता मुज्तबा खामेनेईले राष्ट्रपति मसुद पेजेशकियानलाई अब सरकारका प्रमुख निर्णयहरू रिभोलुसनरी गार्ड (आईआरजीसी)को प्राथमिकताअनुसार अघि बढ्ने स्पष्ट सन्देश दिएका छन्।
रिपोर्टमा अमेरिका–इरान वार्ता तथा राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा आईआरजीसीको सुझावलाई सर्वोच्च प्राथमिकता दिइने र वरिष्ठ सैन्य कमाण्डर अहमद वाहिदीलाई यस्ता निर्णयमा निर्णायक भूमिका दिइएको दाबी गरिएको छ।
त्यसैगरी, राष्ट्रपति पेजेशकियानले विदेश नीति र राष्ट्रिय सुरक्षाका विषयमा आफ्नो सरकारलाई बेवास्ता गरिएको भन्दै पटक–पटक राजीनामा दिने इच्छा व्यक्त गरेको उल्लेख गरिएको छ। तर, सर्वोच्च नेतृत्वले त्यसलाई कुनै महत्व नदिएको दाबी पनि सोही रिपोर्टमा गरिएको छ।
अमेरिका–इरानबीचको बढ्दो तनावको असर अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि देखिएको छ। विश्व बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ।
अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ६२ सेन्ट अर्थात् ०.७ प्रतिशतले बढेर प्रतिव्यारेल ८४.३९ अमेरिकी डलर पुगेको छ। अघिल्लो कारोबारमा यसको मूल्य करिब ७ प्रतिशतले घटेर तीन सातायताकै न्यून स्तरमा झरेको थियो।
यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) क्रुडको मूल्य पनि ६१ सेन्ट अर्थात् ०.७ प्रतिशतले बढ्दै प्रतिव्यारेल ८०.९५ अमेरिकी डलर पुगेको छ। यसअघि डब्लुटीआईको मूल्य एकै दिन ५ प्रतिशतभन्दा बढीले घटेको थियो।
खाडी क्षेत्रमा बढ्दो सैन्य गतिविधि, अमेरिका–इरानबीचको चर्किंदो तनाव र सम्भावित सुरक्षा जोखिमका कारण विश्व ऊर्जा बजारमा पुनः अनिश्चितता बढ्न थालेको विश्लेषण गरिएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया