काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले सुनसरी र मधेशमा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता, आपसी सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले आफू मुस्लिम समुदायबाट आएको भए पनि राप्रपाले अघि सारेको हिन्दू राष्ट्रको अवधारणा कुनै धर्मविरुद्ध नभई सबै धर्मप्रति सम्मान र सहअस्तित्वको भावनामा आधारित रहेको दाबी गरे।
सुनसरी घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे। यस्ता घटनाले सामाजिक सद्भावमा गम्भीर असर पार्ने भएकाले सबैले संयमता अपनाउनुपर्ने उनको भनाइ थियो।
धार्मिक सहिष्णुताको सन्देश दिँदै भाटले हिन्दू र इस्लाम धर्मग्रन्थका सन्दर्भसमेत प्रस्तुत गरे। उनले भगवद्गीतामा उल्लेखित ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः’ को भावले सम्पूर्ण मानवजातिको कल्याणको सन्देश दिने बताए।
त्यस्तै, पवित्र कुरानमा प्रयोग भएको ‘अल्हम्दुलिल्लाहि रब्बिल आलमीन’ भन्ने वाक्यांशले अल्लाह सम्पूर्ण सृष्टिका मालिक भएको अर्थ दिने उल्लेख गर्दै कुनै एक समुदायमा मात्र धर्म सीमित नरहेको धारणा व्यक्त गरे।
सांसद भाटले प्रतिपक्षी दलमा रहे पनि गृहमन्त्री सुधन गुरुङले मधेशमा बढ्दो तनाव नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर सक्रिय भूमिका खेलेको भन्दै प्रशंसा गरे। संकटको अवस्थामा गृहमन्त्रीले प्रत्यक्ष रूपमा पहल गरेको सकारात्मक कदम भएको उनको भनाइ थियो।
राप्रपाले उठाउँदै आएको हिन्दू राष्ट्रको एजेन्डाबारे स्पष्ट पार्दै उनले त्यसको उद्देश्य कुनै समुदायलाई विभाजित गर्नु नभई सबै धर्मबीच सम्मान, सहिष्णुता र राष्ट्रिय पहिचानलाई सुदृढ बनाउनु रहेको बताए।
उनले नेपाल हिन्दू राष्ट्र रहँदासमेत मुस्लिम समुदायले समान अधिकार र सम्मानका साथ आफ्नो धार्मिक आस्था अभ्यास गरेको स्मरण गर्दै सामाजिक सद्भाव कायम राख्न सबैलाई जिम्मेवार बन्न आग्रह गरे।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया