हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेको छ।
भौतिक पूर्वाधार विकासमन्त्री बिनु रायमाझी पौडेलको राजीनामापछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई उक्त जिम्मेवारी सुम्पिएका हुन्।
मन्त्रिपरिषद्को नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी आफैंसँग राखेका छन्।
पुनर्गठित मन्त्रिपरिषद्मा शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने उर्मिला नेपालले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको नेतृत्व गर्नेछिन्।
त्यस्तै, कञ्चनचन्द्र बादे स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, प्रभात तामाङ आर्थिक मामिला तथा योजनामन्त्री, सुरेश श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री तथा कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीको जिम्मेवारीमा रहेका छन्।
नवनियुक्त मन्त्री बज्राचार्यले अब प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व गर्दै पूर्वाधार निर्माण तथा विकाससम्बन्धी कार्यको जिम्मेवारी सम्हाल्नेछन्।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया