काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले गोकर्णस्थित बागमती करिडोर विस्तारका क्रममा नेपाली सेनासँग कुनै विवाद नभएको स्पष्ट पार्दै सम्पूर्ण काम सेनाकै समन्वय र सहकार्यमा सम्पन्न भएको बताएका छन्।

मंगलबार विज्ञप्ति जारी गर्दै सांसद पाण्डेले सडक विस्तारको प्रारम्भिक चरणमा सम्बन्धित नेपाली सेनाको टुकुडीसम्म आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ हुँदा सामान्य समन्वयको समस्या देखिए पनि त्यसपछि प्रमुख सेनानीसँग छलफल गरी पूर्ण सहकार्यका साथ काम सम्पन्न गरिएको बताए।

उनका अनुसार करिडोर विस्तारको कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको हो।

संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीयवासीको लामो समयदेखिको मागअनुसार सम्बन्धित निकायहरूसँग समन्वय गरेर डोजरमार्फत सडक विस्तार गरिएको जानकारी दिए।

पाण्डेले करिडोर क्षेत्रमा नेपाली सेनाको टुकडी रहेको जानकारी पाएपछि थप समन्वयको जिम्मेवारी बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्षलाई दिइएको र त्यसपछि सेनाको सहयोगमै सडक विस्तारको काम अघि बढाइएको बताए।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोहरू प्रारम्भिक समन्वयमा भएको क्षणिक ढिलाइका दृश्य मात्र भएको उल्लेख गर्दै उनले त्यसलाई आधार बनाएर संस्थाहरूबीच विवाद भएको निष्कर्ष निकाल्नु गलत हुने बताए।

उनले तथ्य नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, अनावश्यक विवाद सिर्जना गर्ने र आधारहीन टिप्पणी नगर्न सबैसँग आग्रह गरेका छन्।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com